साउदीमा कामदार निकाल्न नपाइने



news source : Madhyanna Daily : https://madhyanhadaily.com/post/13687

काठमाडौं : साउदी अरब सरकारले कोरोना भाइरस (कोभिड–१९) पीडित आप्रवासी कामदारहरुलाई लाभ पुग्ने गरी नयाँ निर्णय गरेको छ । साउदी सरकारको निर्णयले कोरोना भाइरसका कारण रोजगारी गुमाई घर फर्किने बाध्यता तत्काललाई कम हुने आंकलन गरिएको छ ।

 

नयाँ निर्णय अनुसार आगामी ६ महिनासम्म कामदारको सहमति विना कामबाट निकाल्न पाइने छैन भने कम्पनी पूर्णरुपमा सञ्चालन नआई काम गर्नुपर्ने समय घटेमा कामदारले पाउनुपर्ने मासिक तलबको ४० प्रतिशतसम्म मात्र कट्टा गर्न पाइनेछ ।

 

हाल साउदी अरबमा कामदारको न्यूनतम तलब एक हजार साउदी रियाल रहेको छ । त्यसको ४० प्रतिशत कटौती गर्दा कामदारले मंगलबारको सटहीदर अनुसार ६ सय रियाल अर्थात् करिब २० हजार रुपैयाँ पाउने छन् ।

 

साउदीका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रसिंह राजपुतले कोरोना माहामारीले धेरैको रोजगारी खोसिने त्रास बढीरहेको बेला साउदी सरकारको उक्त निर्णयले नेपाली कामदाहरहरुलाई केही राहत मिलेको बताए ।

 

साउदीको नयाँ निर्णय अनुसार कम्पनीले कामदारलाई वार्षिक बिदा दिन र कामदार स्वयंले पनि बेतलबी बिदा लिन सक्नेछन् । साउदीमा ३ लाख ३४ हजार नेपाली कामदार कार्यरत छन् । उनीहरुमध्ये अधिकांश निर्माण मजदुरका रुपमा रहेका छन् ।

 

यसैबीच विभिन्न कारणले अवैध रुपमा बसेका नेपाली कामदारहरुको ठूलो संख्याले सम्पर्क गर्न शुरु गरेको साउदीस्थित नेपाली दूतावासले बताएको छ । दूतावासले कोरोना संक्रमणको महामारी शुरु हुनुभन्दा अगाडि नै अकमाको म्याद सकिएका, नवीकरण नगरिएका वा ५ महिनाभन्दा लामो समयसम्ममा अकमा नबनाइएका, भगौडा भएका तर कुनै अभियोग नलागेका वा अन्य कुनै कारणले गैरकानूनी हैसियतमा बसेका नेपालीहरुको संख्या दैनिक बढ्दै गएको बताएको हो ।

 

दूतावासले उल्लेखित हैसियतमा रहेका नेपालीहरुले दूतावासको टेलिफोनमा आफ्नो नाम, नेपालको जिल्ला, पासपोर्ट नम्बर, पुरानो अकमा नम्बर, बोर्डर नम्बर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावर कम्पनीको नाम जस्ता विवरणहरु टिपाउन अनुरोध गरेको छ ।

 

दूतावासले धेरै नेपालीहरुबीच दूतावासको सहयोग पु¥याउन गैर आवासीय नेपाली संघ, नेपाली संघसंस्था, सञ्चारकर्मीलाई आग्रह गर्दै महिला, विरामी भई नियमित औषधि सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएकाहरुका बारेमा दूतावासलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

 

साउदी अरबमा कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेको छ । तर संक्रमित हुने विदेशीको राष्ट्रियता नखुलाइने गरिएका कारण संक्रमित नेपालीहरुको संख्या खुलाउन समस्या रहेको बताइएको छ । यद्यपि संक्रमित सबैको समानरुपमा उपचार र खाने प्रवन्धको जिम्मेवारी साउदी सरकारले लिएको छ । मंगलबारसम्म साउदी अरबमा २८ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १ सय ९१ जनाको ज्यान गएको छ ।


Post a Comment

0 Comments