नक्कली अफर लेटर र भिसा देखाउँदै नेपालीलाई ठगी गर्ने गिरोह युएईमा सक्रिय

जेठ २५, युएई । रोजगारीका लागि सुरक्षित गन्तव्यका रुपमा चिनिएको युएईमा नेपालीले नेपालीलाई नै ठग्ने क्रम बढेको छ ।
ठूला कम्पनीहरुमा काममा लगाइदिने भन्दै नेपालबाट भिजिट भिसा मार्फत युएई ल्याउने गिरोह नै सक्रिय रहेको पाइएको छ । उनीहरुले भिजिट भिसामा युएई ल्याएर विभिन्न कम्पनीको नक्कली लेटरहेड र किर्ते हस्ताक्षर गरेका कागजपत्र प्रयोग गर्ने गरेका छन् ।गएको महिना युएई आइपुगेका पाँच जना नेपाली यसरी नै ठगिएका छन् । उनीहरु काठमाडौंको कोटेश्वरमा रहेको शिसार्क मरिन एकेडेमी कन्सल्टेन्सी मार्फत दुई लाख ५० हजार देखी पाँच लाख रुपैयाँसम्म तिरेर भिजिट भिसामा युएई आएका थिए ।सर्लाहीका रमेश रायमाझी, रौतहटका रतन प्रसाद आचार्य, काभ्रेका मन्दिप भण्डारी, सिराहका निमेश श्रेष्ठ र भक्तपुरका जय पुरी ठगीमा परेका हुन् । पीडितहरुले नेपालमा र दुवईमा गरेर दलाललाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बुझाएका थिए ।
युएईमा नाम चलेका कम्पनीहरुमा काम लगाइदिने भन्दै आफूहरुलाई भिजिट भिसामा युएई ल्याएको र यहाँ ल्याएर अलपत्र पारेको उनीहरुले बताएका छन् । पनौतीका एकजना दलालले कन्सल्टेन्सीमा सम्पर्क गराएको पीडितहरुले बताएका छन् ।
युएईको दलालले एडनोक कम्पनीको अफर लेटर र भिसा समेत नक्कली बनाएर आफुहरुलाई दिएर अहिले सम्पर्कविहिन भएको सर्लाहीका रमेश रायमाझीले बताउनुभयो । ठगी गर्नेहरु नेपाल र भारतका दलालहरु बताइएको छ ।
कन्सल्टेन्सी मार्फत युएई आएर यहाँ काम नपाएपछी उनीहरुले ठगिएको मेसो पाएका हुन् । उनीहरुले फसेको पैसा उठाइदिन र दलाललाई कारबाही गर्न माग गरेको एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
युएईमा रहेको एजेन्टले आबुधाबी नेसनल आयल कम्पनीको भिसा र अफर लेटरसमेत नक्कली बनाएको पाइएको श्रेष्ठले बताउनुभयो । ‘नक्कली कागजपत्र बनाएर नेपालीहरुबाट मोटो रकम लिइएको रहेछ ।’ श्रेष्ठले भन्नुभयो ‘कम्पनीमा बुझ्दा र उनीहरुको भिसा विवरण हेर्दा सबै नक्कली भएको पाइएकाले पैसा फिर्ता गराउने तर्फ लागेका छौं ।’-उमाकान्त पाण्डे, उज्यालो अनलाइन

Post a Comment

0 Comments