काठमाडौंको ‘डोमेस्टीक एयरपोर्ट’ सर्‍यो


जेष्ठ ५, २०७३- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगै रहेको आन्तरिक विमानस्थलको टर्मिनल बुधबार पूरानो भवनबाट नयाँ भवनमा सारिएको छ । नागरिक उड्डयन प्राधिकरणले सरकारी स्रोतबाट निर्माण गरेको नयाँ भवनको नाम ‘एनएक्स डोमेस्टीक टर्मिनल बिल्डीङ एण्ड एसोसिएटेड वर्कस्’ राखिएको छ ।

नयाँ भवनमा डिर्पाचर, एराइभल र कार्गो गरी तीन वटा हल छन् । सबैभन्दा ठूलो डिर्पाचर हल रहेको छ । यहाँ सुरक्षा जाँच, एयरलाइन्स अफिस, स्टल, रेष्टुरेन्ट, ट्याक्स/एयरपोर्ट अफिस, टिकटीङ्ग एरिया, ब्यागेज डिस्प्याच एरिया र एटीएम काउन्टर रहेका छन् ।

एराइभल हलमा ब्यागेज क्लेम, स्टल, कफीसप र टेलिफोन बुथ राखिने छन् । अब पूरानो भवनमा जस्तो कार्गो र यात्रु पस्ने बाटो फरक राखिएको छ । कार्गो हलमा छुट्टै सुरक्षा जाँचका साथ संचालनमा ल्याइएको छ ।   

पूरानो भवनमा यात्रुको चाप बढ्दै गएपछि नागरिक उड्डयन प्राधिकरणले २०६९ माघ ३ गते नयाँ भवन निर्माण थालेको थियो । उक्त भवन निर्माणका लागि १० करोड ९३ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । भवन निर्माणको जिम्मा काठमाडौंका तीनवटा निर्माण कम्पनीले संयुक्त रुपमा लिएका थिए ।

विमानस्थलका उपमहानिर्देशक मुरारी भण्डारीका अनुसार बुधबारदेखि संचालनमा ल्याइएको भवन ठेक्दार कम्पनीले एक वर्षभित्रै निर्माण सक्ने सम्झौता गरेका थिए । तर, निर्माण कम्पनीहरु गौरीपार्वती–चक्रेश्वरी र सुनौला खिम्तीले विभिन्न कारण देखाउँदै भाका गरेको म्याद ०७० माघमा भवन निर्माण पूरा गर्न सकेनन् । करिब साढे २ वर्ष ढिलो गरी बुधबारदेखि संचालनमा ल्याइएको भवनको निर्माण सकिए पनि छिटफुट काम भने अझै बाँकि रहेका छन् ।

यो भवनको बुधबार अपराहन्न पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन सचिव प्रेमकुमार राईले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् । विमानस्थलका प्रवक्ता भोला गुरागार्इंका अनुसार यो भवनको लागत चारपटकसम्म पहिलो कवोल मूल्यमा संशोधन भई बढ्दा ११ करोड ९८ लाख पुगेको छ । उद्घाटनअघि बुधबार बिहानैदेखि प्राधीकरणले यो भवनबाट यात्रु सेवा संचालनमा ल्याइसकेको थियो ।

यहाँ १५ वटा एयरलायन्सका काउन्टर राखिएका छन् । नागरिक उड्डयन प्राधीकरणको पूरानो भवन र ०५० सालमा थप बिस्तार गरी बनाइएको आन्तरिक भवन हाललाई के गर्नेबारे निर्णय भइसकेको छैन । तर प्राधीकरणको सिभिल इन्जिनियरीङ सम्हालिरहेका उपमहानिर्देशक भण्डारीले पूरानो भवनमा एयरलाइन्स काउन्टर राखिएको स्थानलाई एयरसाइड हल बनाउने भनेको छ ।

एयरलाइन्सले बोर्डिङपास दिइसकेपछि सुरक्षाकर्मीको निगरानीमा एयरसाइड हल रहने गर्छ । जहाँ गन्तव्यमा उड्न तयार रहेका यात्रु आराम गर्नेछन् । यसैबीच आन्तरिक भवनमा भूकम्पपछि बन्द रहेको क्याफ्टेरिया पनि नयाँ टर्मिनलमा सारिने भएको छ ।


Source- ekantipur

Post a Comment

0 Comments