फ्रि भिसा फ्रि टिकटको निर्णय उल्टाउने खेलमा श्रम समिति


व्यवस्थापिका संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति फ्रि भिसा फ्रि टिकटको निर्णय उल्टाउने खेलमा लागेको छ ।
 
पूर्व श्रम तथा रोजगार मन्त्री टेक बहादुर गुरुङले असार २१ गतेदेखि मलेसिया लगायतको खाडीका ६ मुलुकमा फ्रि भिसा तथा टिकट लागू गरेका थिए।
 
म्यानपावर व्यवसायीहरुले फ्रि भिसा फ्रि टिकटको निर्णय कार्यान्वयन गर्दा व्यवसाय नै धरापमा परेको बताएका आधारमा अन्र्तराष्ट्रिय श्रम तथा सम्वन्ध समिति निर्णय नै उल्टाउने खेलमा लागेको हो।
 
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा व्यवसायीहरुले फ्रि भिसा फ्रि टिकटको निर्णय अव्यवहारिक भएको भन्दै निर्णय खारेज नगरे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बताएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका विमल जानकारी दिए। 
 
मलेसिया तथा खाडीका कतार, साउदी अरब, ओमान, कुवेत र वहराइन जाने कामदारसँग रोजगारदाता कम्पनीले सेवा शुल्क उपलब्ध नगराएको अवस्थामा मात्र जनही १० हजार रुपैयाँका दरले शुल्क उठाउन पाउने निर्णय गरेको थियो। निर्णयसँगै वैदेशिक रोजगार विभागले आउनेजाने हवाइ टिकट र भिसा शुल्कको खर्च रोजगारदाता कम्पनीले नव्यहोर्ने गरी आएका मागपत्रलाई पूर्व स्वीकृति दिन बन्द गरेको छ।
 
 सरकारी निर्णय विपरित व्यवसायीहरुले कामदारसँग पहिलेकै शैलीमा एक लाख रुपैयाँ भन्दा बढी रकम उठाउँदै आएका छन्। उनीहरुले रकम दिन नमान्ने कामदारलाई अनेक कारण देखाएर छनोटमा फेल गराउने गरेका छन्। तर समितिका सदस्यहरुले व्यवसायीहरुको पक्ष लिँदै फ्रि भिसा फ्रि टिकटको निर्णय औचित्यपूर्ण नरहेको बताए। 
 
उनीहरुले कामदारसँग कति रकम लिँदा म्यानपावर कम्पनी चल्न सक्छन् भन्ने बारेमा अध्ययन गरेर मात्र निर्णय कार्यान्वयन गर्नुपर्ने बताए। 
 
समितिले यस विषयमा म्यानपावर कम्पनी संचालक, विज्ञ, सरकारी प्रतिनिधि र कामदारको उपस्थितिमा कार्यशाला गरेर निर्णयमा पुग्ने बताएको छ।
 
म्यानपावर कम्पनीहरुले फ्रि भिसा फ्रि टिकटको निर्णय उल्ट्याउन एक साता अगाडिदेखि व्यवसाय नै ठप्प पारेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले १७ वटा म्यानपावर कम्पनीमा छापा मारेको विरोधमा व्यवसाय ठप्प पारेका व्यवसायीहरुले कामदारलाई विदेश पठाउँदा सेवा सुविधा र प्रबद्र्धन खर्चवापत कामदारबाट एक महिनाको तलब बराबरको रकम उठाउन पाउनुपर्ने माग अगाडि सारेका छन्।
 
व्यवसायीहरुको चर्को दवाबपछि फ्रि भिसा फ्रि टिकेट उल्ट्याउने कसरत भएको हो।  

Post a Comment

0 Comments