एसओएससहित राजधानीका ५ वटा म्यानपावर कम्पनीमा राजस्वको छापा




source : setopati.com

राजस्व अनुसन्धान विभागले काठमाडौंको एसओएससहित राजधानीका ५ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ। कर छलीको आशंकामा काठमाडौंको धापासीमा रहेको एसओएस म्यानपावर सर्भिसका साथै इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि, क्याराभान इम्प्ल्वाइमेन्ट प्रालि, आर्कषक इन्टरनेसनल प्रालि द रिभर ओभरसिज छापा मारेको हो। उनीहरुले लाखौं रुपैयाँ कर छलेको हुनसक्ने विभागले जनाएको छ ।एसअाेएस र द रिभर ठूला म्यानपावर कम्पनीमा गनिन्छन्।
उनीहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरि गैर कानुनी रुपमा कार्य गरिरहेको भन्दै ती म्यानपावरमा छापा मारिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। विभागले ती म्यानपावरका सम्पूर्ण कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
वैदेशिक रोजगारीका नाममा ठगी हुन थालेपछि उपत्यकाका सबै म्यानपावरमाथि वैदेशिक रोजगार विभागले पनि कडा निगरानी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भएको भन्दै चासो व्यक्त गरेको छ। यता ठगीको उजुरीको चाङ परेपछि महानगरीय अपराध महाशाखाले पनि म्यानपावर कम्पनी र उनीहरुका एजेन्टमाथि निगरानी गरि भित्र भित्रै अनुुसन्धान गरिरहेको छ। सबै निकायहरु म्यानपावर कम्पनीमाथि निगरानी  गर्न थालेपछि म्यानपावर संचालकहरु तनावमा छन्।
त्यस्तै विभागले कर छलीकै आशंकामा काठमाडौंको कंगारु एजुकेशन फाउण्डेशन, दीक्षा इन्टरनेशनल, अरबिट इन्टरनेशनल एजुकेशन,नेपाल, इन्टरनेसनन एजुकेशन कन्सल्ट्यान्सी र भायोनेट कम्युनिकेशन एवं इन्फोकम कम्पनीमा पनि छापा मारेको छ । विभागले उनीहरुको पनि सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

Post a Comment

0 Comments