भोलि १२ बजेबाट १२५ पम्पबाट निजी सवारी साधनलाई इन्धन दिइँदै


नेपाल आयल निगमले उपत्यकामा भोलि मङ्गलबार एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने तयारी गरेको छ। 
 
उपत्यकामा रहेका करिब १२५ पम्पले मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो । 
 
दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए। 
 
केही दिनयता भारतबाट पेट्रोलियम पदार्थको आपूर्तिका सम्बन्धमा उहाँले नेपालको भन्सार नाकासम्म पेट्रोलियम पदार्थ सहजरुपमा नआएसम्म आपूर्ति सामान्य हुँदै गएको भन्न नमिल्ने बताए। भारतले अघोषित नाकाबन्दी लगाएर आयात रोकेपछि दुई साता अगाडिदेखि आयल निगमले निजी सवारीलाई इन्धन वितरण गर्न रोकेको थियो। 
 
उहाँले उपभोक्ताले सवारीसाधनको दर्ता बिलबुक साथमै लिएर आई इन्धन भर्नुपर्ने अवगतसमेत गराए। उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ । 
 
निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । 
 
निगमले अत्यावश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरका आधारमा १० लिटरका दरले इन्धन उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अतिआवश्यक सेवा जस्तैः दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ । 
 
ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरबिजोर नम्बरका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । 
 
पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योगधन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमले सामान्यरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । रासस ÷हरि लामिछाने 

प्रकाशित मिति: सोमबार, आश्विन २५, २०७२ १२:१०:५५

Post a Comment

0 Comments