म्यानपावरका कर्मचारी घर फर्कन थाले, व्यवसायी भन्छन्- अब यो पेशामा टिक्नै नसकिने भो

Source: onlinekhabar.com
नारायण पंगेनी
५ साउन, काठमाडौं । म्यानवापर व्यवसायीको आन्दोलनका कारण हजारौं युवा विदेश जान नपाएर राजधानीमै थन्किएको हप्तौं बितिसकेको छ । अब विस्तारै म्यानपावर कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरुको जागिर समेत धरापमा परेको छ ।
म्यानपावर व्यवसायीहरुले आफ्ना कम्पनीमा कार्यरत कर्मचारीलाई बेतलबी विदा दिँदै घर पठाउन थालेका छन् । व्यवसायीहरु कर्मचारी कटौती अभियानमा लागेका छन् ।
फाइल फोटो
म्यानपावर व्यवसायीहरुले सरकारको निर्णय फिर्ता नभएसम्म आफूकहाँ आएको फ्री भिसा र फ्री टिकटको मागमा समेत कामदार नपठाएर सेवा ठप्प पारेपछि यस क्षेत्रका हजारौं कर्मचारी अलपत्र परेका हुन् ।
कामै नभएपछि म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीसहित कमिशनमा काम गर्ने एजेन्टसमेत अलपत्र परेका छन् । काम बन्द गरी आन्दोलनमा उत्रिएका म्यानपावर ब्यवसायीहरुले आफ्नो ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै धमाधम कर्मचारीलाई बिदा गर्न थालेका छन् ।
केही दिन आन्दोलनमा प्रयोग गरिएका कर्मचारीहरुलाई एक महिनाको तलब बराबर सेवा दिएर विदा गर्न थालिएको म्यानपावर ब्यवसायी रामप्रसाद बन्तुनाले बताए ।
पेशाबाटै हात झिक्ने स्थिति आयो : व्यवसायी
मलेसिया तथा खाडी मुलुकमा वैदेशिक रोजगारका लागि कामदार पठाउँदै आएका म्यानपावर व्यवसायीहरुले आफ्नो व्यवसायबाटै हात झिक्ने मनस्थिति बनाउन थालेका छन् ।
सरकारले मलेसिया, कतार, साउदी अरब, युएई, ओमन, बहराइन र कुवेतमा पफ्री भिसा र फ्री टिकटको निर्णय फिर्ता लिने कुनै संकेत नदिएपछि व्यवसायीहरुले पेशाबाटै हात झिक्ने मनस्थिति बनाएका हुन् ।
असार २१ गतेदेखि सात देशमा फ्री भिसा र फ्री टिकटमा मात्रै कामदार लैजाने श्रम तथा रोजगार मन्त्रालयले निर्णय गरेपछि भएको आन्दोलन र वार्ताबाट निकास निस्किएन ।
वैदेशिक रोजगारमा कामदार लैजाने स्वीकृति पाएका म्यानपावर कम्पनीहरु बन्द छ । देशभरबाट ७ सय ५८ वटा म्यानपावर सञ्चालनमा थियो ।
‘केही आम्दानी पनि होस् भनेर नै यो पेशा गर्दै आएकोमा मुनाफा नै नहुने भएपछि ब्यवसायमा टिक्न नसकिने अवस्था आएको छ’, वार्ता टोलीका सदस्य तथा म्यानपावर ब्यवसायी बन्तुनाले भने-‘कामदार नै लैजान सक्ने अवस्था नभएपछि सेवाबाटै हात झिक्नुपर्ने बाध्यता आइपरेको छ ।’
ट्राभल एजेन्सीदेखि होटल ब्यवसायसमेत प्रभावित
वैदेशिक रोजगार ब्यवसायीहरुको आन्दोलनको असर विस्तारै अन्य क्षेत्रमा समेत परेको छ । यसको असर ट्राभल एजेन्सीदेखि होटलसम्म परेको छ ।
सरकार युवाहरुलाई स्वदेशमै रोजगार दिन नसक्दा नै युवाहरु रोजगारका लागि विदेशिने गरेका हुन् । वैदेशिक रोजगारमा माग नल्याइँदा ट्राभल एजेन्सी, होटल तथा लजहरु तथा रेमिट्यान्स कम्पनीहरुसमेत प्रभावित भएको ब्यवसायीहरु बताउँछन् ।
आन्दोलन र वार्ता दुबै असफल
म्यानपावर ब्यवसायीबाटै करिअर बनाएर श्रम तथा रोजगार राज्यमन्त्री बनेका टेकबहादुर गुरुङले सात मुलुकमा फ्री भिसा र फ्री टिकटको निर्णय असार २१ देखि कार्यान्वनयमा ल्याउने निर्णय गरेपछि ब्यवसायीहरु आन्दोलनमा उत्रिए ।
कार्यालय बन्द गरी आन्दोलनमा उत्रिएपछि सरकारले बार्तामा बोलायो । व्यवसायीहरु पाँच दिन वार्तामा पनि बसे ।
तर, वार्तामा पनि फ्री भिसा र फ्री टिकटको मुख्य फिर्ता गर्ने सम्भावना देखिएन । निर्णय तत्काललाई स्थगित गरी कार्यदल बनाई सात मुलुकको भ्रमण गरी प्रतिवेदन तयार पार्ने ब्यवसायीहरुले प्रस्ताव गरे ।
मन्त्री गुरुङ गुरुङ कार्यदल बनाउने र सात देशको भ्रमण गरी प्रतिवेदन बनाउने कुरामा सहमति जनाए पनि निर्णय स्थगित गर्ने पक्षमा राजी भएनन् ।
कमिशन बढाउनुपर्नेमा माग अस्वीकार
म्यानपावर कम्पनीले सात मुलुकबाट फ्री भिसा र फ्री टिकटको माग ल्याउने र प्रतिकामदार १० हजार कमिशन लिन सक्ने ब्यवस्थामा गरिएको छ ।
मन्त्री गुरुङ निर्णयबाट पछि नहट्ने अडानमा उभिएपछि ब्यवसायीहरु कमिशन बढाउनेसहित अन्य विभिन्न माग लिएर प्रस्तुत भए ।
१० हजार मात्रै कमिशनमा काम कामदार पठाउँदा खर्च नै नउठ्ने भएकाले कमिशन बढाउने विकल्पमा पनि छलफल भएको एक ब्यवसायीले बताए । ‘१० हजार रुपैयाँ अपुग हुन सक्छ भन्ने विषयमा पनि छलफल भएको छ,’ ती ब्यवसायीले भने, ‘कमिशन बढाउनेबारे पनि ब्यवसायीहरुले कुरा उठाएका छन् ।’
सरकारी तवरबाट भएका अनुगमनहरु फितलो बनाउने, कम्पनी नवीकरणमा समस्या नगर्ने, ब्यवसायीहरुलाई विभिन्न बाहनामा दुःख दिने कामहरु बन्द गर्नुपर्ने, भीएलएन नेपाल तथा बायोमेटि्रक प्रणाली खारेज गर्नुपर्ने जस्ता मागहरु तेर्साए ।
प्राविधिक विषयका मागहरु हल गर्न सरकार राजी भए पनि फ्री भिसा र फ्री टिकटको निर्णयलाई ट्रायल बेसिसमा लैजानेमा सरकारी धारणापछि ब्यवसायीहरु हच्किएका हुन् ।
गत विहीबार भएको वार्तामा सबै विषयमा सहमति जनाइसकेको वार्ता टोली शुक्रवार एक्कासी अहसमति जनाएको वार्ता टोलीका अर्का सदस्य किरणकिशोर घिमिरेले बताए ।
पुराना कामदार पठाउनेबारे छलफल
यसैवीच श्रम राज्यमन्त्री गुरुङबाट माग पूरा हुने नदेखेपछि ब्यवसायीहरु कामदारलाई विदेश पठाउनेबारे तीन दिनयता आन्तरिक छलफलमा जुटिरहेका छन् ।
पछिल्लोपटक वैदेशिक रोजगारमा जाने तयारीमा रहेका असार २१ अघिका कामदारलाई पठाउनेबारेमा ब्यवसायीहरुले छलफल थालेका हुन् । संघको वैठक बसेर पुरानालाई पठाउनेबारेमा निर्णय गरिने वार्ता समितिका सदस्य बन्तुनाले बताए ।
तर, सरकारले फ्री भिसा र फ्री टिकट लागू गरिसकेपछि वैदेशिक रोजगारीमा जान लागेका युवाहरुले पैसा फिर्ता माग्न थालेकाले म्यानपावर व्यवसायीहरु हैरानीमा परेका छन् ।
राज्यमन्त्री गुरुङले यसअघि अनलाइनखरलाई दिएको अन्तरवार्तामा भिसा क्यान्सिल गर्न चाहनेहरुलाई चार्ज लिएर म्यानपावर व्यवसायीले क्यान्सिल गरिदिनुपर्ने बताएका छन् । असार २१ अघि नै भिसा लागेका व्यक्तिले भिसा क्यान्सिल गरेर फ्री भिसामा विदेश जाँदा फाइदा हुने देखेपछि म्यानवापर व्यवसायी थप घाटामा पर्ने देखिएको छ ।