भोलिदेखि नेपालीहरुले आफ्नै जहाजमा दुबई उड्न पाउने


भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसका लागि निगमले सबै तयारी पूरा गरेको बताएको छ ।
नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो 
एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको छ । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुने निगमले जनाएको छ ।
निगमले पाँच वर्षअघि दुबईमा हप्तामा चार उडान भर्ने गरेको थियो । नयाँ जहाज ल्याउन नसकिँरहदा भएका जहाज पनि ग्राउन्डेड हुने क्रम बढेपछि निगमले दुबइको उडान स्थगित गरेर बसेको थियो । 
नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । 
निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ । नेपाल एयरलाइन्सले अहिले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान गर्ने गरेको छ ।
Source- sajhasabal.com

Post a Comment

0 Comments