खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै, सबैभन्दा बढी साउदी अरबबाट

काठमाडौं, साउन ५ । मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।
खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांक अनुुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ ।साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युनाइटेड अरब इमिरेट्स (युएई) बाट साढे ११ प्रतिशत, कुबेवबाट ३ दशमलव ८४ प्रतिशत र बहराइनबाट ० दशमलव ०३ प्रतिशत रेमिट्यान्स भित्रिँदै आएको छ ।
यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो।
उक्त वर्ष करिब ६ खर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । तुलनात्मक रुपमा ती राष्ट्रहरुमा कामदारका रुपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए ।
गत जेठसम्ममा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ८ प्रतिशतको बृद्धि हो ।
अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानाडा आदि) हरुको योगदान रेमिट्यान्समा कममात्र रहँदै आएको छ । कान्तिपुर दैनिकबाट
- Source; imagekhabar.com


Post a Comment

0 Comments