वैदेशिक रोजगारमा गएकाहरुलाई सरकारको बजेटमा के छ ?


जेठ १६, काठमाडौँ | अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । तर त्यत्रो बजेटले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने गरि कुनै ठोस कार्यक्रम ल्याएको छैन । नेपालमा अहिलेसम्मकै पपुलर बजेट दिएको सरकारले वैदेशिक रोजगारलाई प्राथमिकतामा नपार्नुले बैदेशिक रोजगारीको ब्यबस्थापनमा थप चुनौती खडा भएको छ ।
नयाँ बजेटमा नेपालको बिकासको लागि धेरै पपुलर कार्यक्रम भएपनि बिदेशमा रहेका नेपालीहरुको लागि खासै ध्यान छैन । रोजगारीको क्रममा बिभिन्न देशमा पुगेका लाखौं नेपाली कामदारको हक, हित, सेवा, सुरक्षा, पहिचानपत्रबारे बजेटले कुनै नीति लिन सकेको छैन ।
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको ठूला योजनामा लगानी गर्ने योजना समेत बजेटमा सम्बोधन भएको छैन | बजेटमा राष्ट्रिय रोजगार नीतिलाई कार्ययोजना बनाई कार्यान्वयन गरिने भन्दै ‘आगामी आर्थिक वर्षमा रोजगार प्रत्याभूति विधेयक व्यवस्थापिका संसदमा पेस गरिने’ भनेर उल्लेख गरेको छ । त्यस्तै तीन बर्षमा लाखौँ नेपालीलाई स्वदेशमै रोजगारी दिने योजना छ ।
सरकारले विदेशमा अलपत्र, अशक्त, हिंसा, समस्यामा परेका कामदारको उद्धार जिम्मा नेपाली दूतावासलाई नै दिने भनेको छ । तर बिभिन्न देशमा रहेका नेपाली दूतावासहरु यस्तो बोझ उठाउन सक्ने अवस्थामा छैनन् । दूतावासलाई यस्तो काम गर्न स्रोत, साधन र दक्षताको अभाव छ ।
सरकारले आगामी वर्ष थप चार देश ओमान, लेबनान, जोर्डन र मलेसियामा श्रम सम्झौता गर्नेमा भने जोड दिएको छ ।
त्यस्तै विदेशमा रहेका नेपालीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था बजेटले गरेको छ । प्रवासमा रहेका नेपालीले लामो समयदेखि उहीबाटै मतदानको अधिकार माग्दै आएका थिए ।
त्यस्तै बजेटमा सरकारले आन्तरिक तथा वैदेशिक रोजगारका लागि सीपयुक्त जनशक्ति तयार गर्न तालिम विस्तारमा जोड दिएको छ । आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष ५ लाखभन्दा बढी वैदेशिक रोजगारमा जाने जनशक्तिमध्ये ७५.५ प्रतिशत अदक्ष, २३ प्रतिशत अदक्ष र १.५ प्रतिशत दक्ष जनशक्ति छ ।
यो बर्षको बजेटमा विदेशबाट फर्केका कामदारको सीप र कार्यदक्षताको परीक्षण गरी प्रमाणपत्र दिइने उल्लेख छ तर कसरी गर्ने भन्ने स्पष्ट नीति लिन सकेको छैन । हालसम्म बिदेशमा गएका नेपालीहरुको रेकर्ड भएपनि कति स्वदेश फर्किए भन्ने बारे रेकर्ड भने छैन ।
- See more at: http://sajhasabal.com/blog/news/baet/#sthash.hKqjlqMc.dpuf

Post a Comment

0 Comments