इन्धन शुक्रबारदेखि नियमित




माघ २८, २०७२- आयल निगमले शुक्रबारदेखि नियमित रूपमा इन्धन वितरण गर्ने भएको छ । नाकाबन्दी खुलेपछि इन्धन भित्रने क्रम बढेकाले निगमले नियमित बाँड्ने तयारी गरेको हो । नाकाबन्दी खुलेपछि आपूर्ति मन्त्रालयअन्तर्गत गठित आपूर्ति व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो ।


'केही दिनयता इन्धन आयातमा सुधार हुँदै गएकाले आपूर्ति बढाउने निर्णय भएको छ,' समितिका संयोजक तथा मन्त्रालयका सहसचिव दीपक सुवेदीले भने, 'शुक्रबारबाट नियमित रूपमा इन्धन वितरण गर्ने छौं ।' कोटा प्रणाली पनि हटाइएको छ । यसअघि सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई कोटा प्रणालीअनुसार इन्धन वितरण गर्दै आएको थियो ।

निगमका वितरण विभाग निर्देशक दीपक बरालले शुक्रबारदेखि दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण गरिने जानकारी दिए । शुक्रबार वितरण हुने इन्धनको परिमाण सामान्य अवस्थाको हो । निगमका अनुसार उक्त इन्धन सरकारीसँगै निजी पम्पबाट वितरण गरिने छ । उपत्यकामा करिब १ सय २० पेट्रोल पम्प छन् । यीमध्ये अधिकांश पम्पबाट वितरण हुने निर्देशक बरालले बताए ।

नाकाबन्दीले इन्धन आयातमा कटैती भएपछि निगमले वितरणमा पनि व्यापक कटौती गरेको थियो । त्यसबेला दैनिक ८० हजार लिटरसम्म मात्रै वितरण गरिएको थियो । तर, अहिले रक्सौल नाकाबाट आपूर्ति बढेकाले वितरण पनि सहजोन्मुख हुँदै गएको बरालले बताए । निगमका अनुसार इन्धन नियमित वितरण भए पनि एक सातासम्म दुई पांग्रे सवारी -मोटरसाइकल/स्कुटर) ले ५ लिटर र चार पाङग्रे (जिप/कार) ले १५ लिटर मात्र पाउने छन् । 'अहिले नै ट्यांक इन्धन वितरण गर्दा समस्या हुन सक्छ,' बरालले भने, 'सबैलाई इन्धन उपलब्ध गराउन मोटरसाइकल र कारको परिमाण तोकेका हौं ।'
निगमका अनुसार सोमबारदेखि बिहीबारसम्म रक्सौल डिपोबाट साढे ४ हजार किलोलिटरभन्दा बढी इन्धन भित्रिएको छ ।

नाकाबन्दीअघि रक्सौल डिपोबाट २५ सयदेखि ३ हजार किलोलिटरसम्म इन्धन आयात हुन्थ्यो । निगमका अनुसार रक्सौल डिपोबाट बिहीबार करिब १७ सय किलोलिटर, बुधबार १ हजार ३ सय ६० किलोलिटर, मंगलबार १ हजार ३ सय १० किलोलिटर, सोमबार ३ सय ६८ किलोलिटर इन्धन भित्रिएको छ । यस्तै अन्य नाकाबाट भने कोटा क्षमताअनुसार भित्रिएको निगमले जनाएको छ ।

source: kantipur
http://bit.ly/20qFm8E

fuel normal distribution from friday

Post a Comment

0 Comments