अवकाशकै दिन ६५ म्यानपावर खारेजको निर्देशन



मोहन गुरुङ
काठमाडौं, १८ असोज – शुक्रबार अवकाश लिएकै दिन वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले ६५ म्यानपावर एजेन्सी खारेज गर्न उजुरी तथा अनुसन्धान शाखालाई ठाडो निर्देशन दिएका छन् । उनले उमेर हदका कारण अवकाश लिएका हुन् ।
सुवेदीद्वारा हस्ताक्षरित पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सिफारिस गरेका ४७ र विशेष अदालतमा विचाराधीन १८ म्यानपावर एजेन्सीलाई खारेज गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ (ङ) मा नियमविपरीत कुनै कार्य गरे इजाजत खारेज गर्न सक्ने व्यवस्था छ । तर, इजाजत रद्द गर्नुअघि सम्बन्धित एजेन्सीलाई सफाइ पेस गर्न मौका दिनुपर्ने व्यवस्था पनि ऐनमा छ । यही व्यवस्थाका कारण शाखा अप्ठ्यारोमा परेको छ ।
यी एजेन्सीले श्रमस्वीकृतिका लागि नक्कली फाइल पेस गरेका थिए । यस्ता अधिकांश एजेन्सी मलेसिया कामदार पठाउने हुन् ।
पत्रमा ६५ म्यानपावरलाई खारेज गरेरमात्र वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्न भनिएको शाखा निर्देशक उमाकान्त पौडलले बताए । उनका अनुसार अझै पनि म्यानपावरहरू बयानका क्रममै छन् ।
विशेष अदालतमा विचाराधीन रहेकाले १८ एजेन्सीलाई खारेज गर्न पनि सकिने अवस्था छैन । “अनुसन्धानमा एजेन्सीहरूले गलत कागजपत्र पेस गरेको खुलेको छ, मुद्दालाई बलियो बनाउनका लागि प्रमाण खोज्ने काम भइरहेको छ, अनुसन्धानबाट जे देखिन्छ, त्यहीबमोजिम कारबाही हुनेछ,” पौडेलले भने । म्यानपावर एजेन्सीले रोजगारदाता कम्पनीलाई पठाउने कागजात स्क्यानिङ गरेर परिवर्तन गरेको अनुसन्धानमा देखिएको छ ।
श्रमस्वीकृतिको नक्कली फाइल सकारेर विभागका कर्मचारीले रकम लेनदेन गरेको भन्दै अख्तियारले १८ एजेन्सीविरुद्ध विशेषमा मुद्दा दायर गरेको छ । ४७ एजेन्सीले नक्कली कागजात पेस गरे पनि कर्मचारीले सदर नगरेर ऐनबमोजिम कारबाही गर्न विभागलाई सिफारिस गरेका थिए ।
मुद्दा दायर भएका १८ एजेन्सी
जस्मिन ओरभसिज, युनाइटेड इन्टरनेसनल, पश्चिम नेपाल ओभरसिज, न्यु ग्लोबल म्यानपावर, अलकोर्निस ओभरसिज, आर एन्ड आर जब ट्र्याकर, एसिया लिंक सर्भिस, लालधनुष इन्टरनेसनल, ग्रेटर भिजन ओभरसिज, अक्टोपस ओभरसिज, युनाइटेड एचआर सोलुसन, इन्फिनिटी रिक्रुटमेन्ट, स्किल्ड ह्युमन रिसोर्स, मोभिरा एचआर सोलसुन, सेफल्यान्ड ओभरसिज, डिजाइन इन्टरनेसलन, रिलायन्स इन्टरनेसनल र गुरुङ मगर सर्भिस
अख्तियारद्वारा कारबाही सिफारिस एजेन्सी
एस इम्प्लोयमेन्ट, मसारेक इन्टरनेसनल, मिराकल ओभरसिज, ड्रिम एन्ड गाइड, सलमानी ओभरसिज, अञ्जली ओभरसिज, गल्फ इनोभेसन, एमकन ओभरसिज, जब सर्च, अल नासिर, मोभिरा ओभरसिज, मादी आभेरसिज, मेरिगोल्ड ओभरसिज, योङ ओभरसिज, ट्र्याक अन, एसपीएम ओभरसिज, सार्क ओभरसिज, अरोरा ह्युमन रिसोर्स, परदेशी ओभरसिज, लक्की ओभरसिज, नाइल इन्टरनेसनल, स्वस्तिक ओभरसिज, स्टार वे ओभरसिज, रिजन ओभरसिज, पर्फेक्ट कनेक्सन ओभरसिज, डिलक्स ह्युमन रिसोर्स, वेस्ट वे ओभरसिज, डिप गेट वे, पियर इन्टरनेसनल, सिग्नल ओभरसिज, सिटिजन ओभरसिज, लक्की एचआर ओभरसिज, जीएस इम्प्लोयमेन्ट, रारा इम्प्लोयमेन्ट, फ्युचर लिंक इन्टरनेसनल, अल ह्यात म्यानपावर, गल्फ म्यानजमेन्ट, युरोटेक, आस्था इन्टरनेसनल, एनबी इन्टरनेसनल, गतिशील ओभरसिज, साउदी नेपाल, वाटर ह्युमन रिसोर्स, एबीसी प्लेसमेन्ट, ग्रान्ड ओभरसिज, लिबर्टी एचआर कन्सल्ट्यान्सी र कालिन्चोक म्यानपावर ।
२ महिनामा ९ करोड ठगी
म्यानपावर एजेन्सी र एजेन्टले पछिल्ला २ महिनामा नेपाली कामदारसँग ९ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । विभागको तथ्यांकअनुसार २७८ म्यानपावर एजेन्सीविरुद्ध ४ करोड ९३ लाख र ७८ एजेन्टविरुद्ध ४ करोड ७९ लाख रुपैयाँको बिगो दाबीसहित उजुरी परेका छन् ।
बिगो दाबीमध्ये ८ एजेन्टले ४८ लाख ८७ हजार र ९६ म्यानपावर एजेन्सीले १ करोड ८ हजार रुपैयाँ कामदारलाई फिर्ता गरिसकेका छन् । ४१ एजेन्ट र २ एजेन्सीविरुद्ध १ करोड रुपैयाँ बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । विभागले एउटा एजेन्सीलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

Post a Comment

0 Comments